• ओलीले पार्टी एकता भंग गर्न खोजेको नेपालको आरोप

  • नेपाल एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अध्यक्ष केपी ओलीले पार्टी एकतालाई भंग गर्न खोजेको आरोप लगाएका छन् । कर्णाली प्रदेशका सांसदमाथि गरेको कारबाहीलाई सर्वोच्च अदालतले उल्ट्याएपछि ओलीले फेरि भ्याकेटमा जाने निर्णय गरेर पार्टी एकता भंग गर्ने दिशामा लगेको उनले आरोप लगाएका हुन् ।

    उनले पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा हेरिएको गुनासो गरेका छन् । स्थायी समितिका नेतामाथि कारबाही गर्ने र फेरि उनीहरूसँगै वार्ता गर्ने दोहोरो चरित्रले यसअघि नै विभिन्न शंका उब्जिएको उनले उल्लेख गरेका छन् ।

    ‘कर्णाली प्रदेशका सांसद एवं पार्टीका नेताहरूमाथि विधानविपरीत गरिएको कारबाहीलाई अदालतले उल्ट्याएपछि फेरि भ्याकेटमा जाने निर्णयबाट पार्टीलाई एकता भंग गर्ने दिशामा लग्न खोजिएको प्रस्ट बुझ्न सकिन्छ । स्थायी समितिका नेतामाथि कथित कारबाही, फेरि उहाँहरूसँगै वार्ता पनि गर्ने दोहोरो चरित्रले विभिन्न शंका उब्जाएकै थियो । जिम्मेवार भएर पार्टी एकता बचाउन अधिकतम लचक भएर प्रस्तुत हुँदा त्यसलाई कमजोरीका रूपमा लिएको जस्तो देखियो,’ उनले भनेका छन्, ‘सत्ता जोगाउन संविधानका विरोधी र दक्षिणपन्थी तत्त्वसँग आत्मसमर्पण गर्ने, एकताविरोधी हर्कतलाई जारी राख्ने कुराले एकताबद्ध पार्टी बनाउने प्रयासविरुद्ध को कुन रूपमा लागेको छ – सहजै देख्न सकिन्छ । असल नियतका साथ गरिएका अनौपचारिक वार्ता र संवादलाई रणनीतिका रूपमा प्रयोग गर्नेहरू र एकता विरोधी तत्त्वहरूसँग सावधान हुन सबैको ध्यानाकर्षण गर्न चाहन्छु,’ उनले भनेका छन् ।

    फर्वाडखबर डटकममा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई forwardkhabar@gmail.com मा पठाउन वा 9867415506/9847728821 फोन गर्न सक्नुहुने छ ।

    सिफारिस